…र जीवनका केही अनुभूतिहरू!

एउटा फुर्सदको साथी

चिन्ता हटाउने उपाय

Posted by युबराज खतिवडा on April 30, 2010

डा. हरिहर खनाल (एमडी, एमडी तथा पीएचडी)

harikhanal@yahoo.com

ँचिता र चिन्ता दुवैको काम जलाउने हो, चिताले मृत्युपर्यन्त जलाउँछ भने चिन्ताले जिउँदै जलाउँछ।’ यो भनाइ नै चिन्ता के होला भन्ने कुराको एउटा परिभाषा, अर्थ वा वास्तविकता हो।

चिन्ता मानवको मनोवैज्ञानिक धरातलमा रही भावनात्मकरुपमा देखा पर्ने अभिव्यक्त गुण हो। चिन्ता नै नहुने मान्छे कल्पना गर्न पनि सकिंदैन। यसमा चिन्तालाई जितेका, चिन्ता नलिनेहरुचाहिँ केही अपवाद पनि हुन सक्छन्।

होइन भने सबैले चिन्ता गर्छन्। चिन्ता त्यो पनि चाहिने मात्रामा हुन्छ भने स्वास्थ्यको लागि, प्रगतिको लागि अति आवश्यक रहन्छ। चिन्ता गर्दै गरिएन भने पनि वा आवश्यक हुने मात्राको चिन्ता रहेन भने पनि न त प्रगति हुन्छ, न सामाजिक सम्बन्ध दिगो रहन्छ, न त मेहनत नै गरिन्छ।

परीक्षाअगाडिको प्रशिक्षार्थीको चिन्ता, विवाह हुनुपूर्व जीवनसाथी तथा आफ्नो सम्बन्ध र भविष्यको चिन्ता, प्रेमी-प्रेमिकाबीचमा एकले अर्को पक्षलाई पीडा, दुःख, चोट नपुर्‍याउने वा गुमाउने चिन्ता, भविष्यमा सुरक्षित काम, स्वास्थ्य तथा शान्तिपूर्ण जीवनयापन गर्न पाउने/नपाउने जस्ता चिन्ता वास्तविक र अलि-अलि सबैले गर्ने प्राकृतिक एवम् केही आवश्यक चिन्ताका दायरा हुन्। यस्ता आवश्यक चिन्ताहरुले गल्ती गर्नबाट बचाउने, मेहनत गर्ने योजना गर्ने तथा होसियारी पाइला चाल्ने गराउने हुन्छ। तर त्यसको उल्टो अत्यधिक चिन्ता, बेचैन, अनिर्णित र एक्लिने हुन थाल्यो भने प्रगतिको साटो अधोगति, स्वास्थ्यको साटो बिरामी, सुखको साटो दुःख मात्र पाइन्छ। यसका साथै चिन्ताको भूमरीमा डुबेर त्यसबाट निस्कन नै सकिंदैन। चाहिने नचाहिने उत्कण्ठाहरु, विचारहरुको खाडल गहिरिंदै गएर निकासै नपाउने गरी मानसिक रोगी बन्न सकिन्छ।

चिन्ताको कारणले धेरै लक्षण विकसित हुन्छन् वा देखा पर्न सक्छन्। यी लक्षणहरु चिन्ताले हुन्छन्। ती अन्य रोगसँग मिल्दाजुल्दा पनि हुन सक्छन्। वास्तविक चिन्ताको निदान र उपचार हुन पाएको हुँदैन। बिरामीहरु एकपछि अर्को चिकित्सककहाँ पुग्छन्। मानिसमा देखिने यस्ता लक्षणहरु फरक-फरक हुन सक्छन्। चिन्ताको गहिराइ हेरेर कोहीलाई कम, कोहीलाई बढी लक्षण देखिन सक्छ।

यसका भौतिक लक्षणहरुमा नाडी छिटो-छिटो चल्नु, मुटु ढुकढुक गर्नु, श्वास फेर्न गाह्रो हुनु, हत्केलामा पसिना आउनु, हात काँप्नु, मुख सुक्नु, वाकवाकी लाग्नु, भोक नलाग्नु वा तीतो स्वाद आउनु, टाउको दुख्नु, पेट-छाती वा अन्य भाग दुख्नु आदि मुख्य हुन्।

त्यस्तै भावनात्मक लक्षणहरुमा असुरक्षित महसुस हुनु, निर्णय गर्ने क्षमता घट्नु, आत्मविश्वास तथा आत्मनिर्णयमा कमी हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, छोपेजस्तो हुनु , शंका लागेजस्तो हुनु, बिर्सने ज्यादा हुनु आदि मुख्य हुन्।

यदि चिन्ता ठिक्क मानवस्वभावभित्र रहने, परेको बेलामा चिन्तित भए पनि अन्य समयमा परिस्थिति र घटनाअनुसार आफूलाई ढाल्न सक्ने अवस्थासम्मलाई स्वाभाविक मानिन्छ। तर यो अवस्थाभन्दा पर पुगिएमा चिन्ता अलि बढी नै भएको मानिन्छ। यसरी प्राकृतिक तथा हुनै पर्नेभन्दा अलि बढी चिन्तित भएमा मनोवैज्ञानिकरुपमा प्रभाव देखिन्छ। साथै लक्षण पनि देखिन थाल्छन्। यदि योभन्दा अझ बढी नै चिन्तित हुन थालियो भने मानसिक रोगको सुरु अवस्थाको सम्पूर्ण सोचाइमा गडबडी -जेनेरलाइज्ड इन्जाइटी डिसअर्डर) भन्ने समस्या विकास हुन सक्छ। यदि यो स्तरको चिन्ता र गडबडी भयो भने उपचारमा पनि विशेषज्ञ तहमै जानुपर्ने हुन सक्छ। साथै उपचार गर्न पनि अप्ठेरो हुने, ढिलो मात्र सुधार हुने अवस्था आउन सक्छ।

चिन्ता कुन अवस्थामा छ भन्ने कुरा छुट्याउन वा चिन्न अति आवश्यक छ। अलि बढी चिन्ता भएमा छुट्याउन सकिने गरी केही लक्षणहरु देखिन सक्छन्। जस्तो-

- अरु धेरैले चिन्ता नगर्ने वा गर्न नपर्ने कुरामा आफू चिन्तित भएको महसुस गर्नु वा अरुमा त्यस्तो देखिनु।

- चिन्ता रोक्न वा चिन्ताबाट मुक्त हुन नसक्नु। यसले गर्दा बेचैन भइरहनु तथा आरामसँग रहन नसक्नु।

- चिन्ताले कुनै फाइदा वा समाधान दिएको कुनै उदाहरण नपाइनु।

- चिन्ता नगरेमा वा निश्चिन्त रहेमा आकाशै खस्ला, जहाजै डुब्ला वा भवितव्य नै आइपर्लाजस्तो महसुस हुनु।

- आफ्नो जीवनका सम्पूर्ण अवस्था, घटना, परिस्थिति अनुकूल र सहज हुँदाहुँदै पनि चिन्ता गरिरहनु वा निश्चिन्त हुनुको चिन्ता लाग्नु।

यी सबै परोक्षरुपमा मूल्यांकन गर्ने र अवस्था छुट्याउने लक्षणहरु हुन्। यदि यस प्रकारका लक्षण बढीभन्दा बढी पाइन थालेमा जसरी पनि मनोचिकित्सक भेट्न पर्ने हुन्छ। यी नै लक्षण पनि क्षणिक, वैचारिक तथा एउटा वा अर्को मात्र देखा परेमा सीधै रोगभन्दा पनि पूर्वअवस्था वा अलि-अलि चिन्ताको अवस्था भनेर मान्ने वा ग्रहण गर्ने अवस्था आउँछ र सोहीअनुरुप प्रभावमा जान सकिन्छ।

चिन्ताको शाब्दिक अर्थको कुरा गर्दा यो अप्रिय खालको भावना वा सोचाइ वा डर र तिनीहरुबाट बच्न गरिने अर्थहीन योजना, विश्लेषण, आशा र विश्वासको लागि हुने बेचैन अवस्था हो। असम्भव सपना र क्रियाकलापको आशा र विश्वासमा विचारमग्न भएर मस्तिष्क अशान्तिले भरिन्छ। आफ्नो चिन्ता गराइको प्रमुख विषय वा घटनाले सोचाइका धेरै क्षेत्र ओगटेर अरु ठूला, नयाँ, आवश्यक कुरासमेत ओझेलमा पर्न जान्छन्। चिन्ता गर्नु नियत वा व्यवहार हो, कारण जे पनि हुन सक्छ- सम्भव वा असम्भव, राम्रो वा नराम्रो, सत्य वा असत्य, चाहिने वा नचाहिने आदि।

चिन्ता शब्दलाई अंग्रजीमा ओरी (Worry) भनिन्छ। यो शब्द पुरानो अंग्रेजीको वरियन (Worian) बाट आएको मानिन्छ। ब्वाँसो वा कुकुर वा स्यालले भेडालाई जसरी टोकी-टोकी, हल्लाई-हल्लाई मार्छ, त्यही डरलाग्दो अवस्थालाई ओरियन भन्ने गरिन्थ्यो। आज त्यो शब्दको अर्थ अरु व्यापक र तह-तहको चिन्तासमेतको अस्तित्वले त्यस्तै डरलाग्दो अवस्था ल्याउने मानव संवेदना वा विचार गराइको रुपमा रहेको छ।

चिन्ताले राम्रो गर्दैन भन्ने थाहा भएर पनि जीवनका बाध्यता र अशान्ति, गरिबी तथा अशिक्षाका कारणले यो बढ्दो क्रममा छ। त्यति मात्र नभई व्यक्तिगत, सामाजिक, आर्थिक, व्यावहारिक र सामयिक नोक्सानीसमेत हुन्छ। जोन लुकले त्यसै भनेका होइनन्- ँएक दिनको चिन्ताले एक दिनको कडा परिश्रमयुक्त कामले भन्दा बढी थकाउँछ।’

हिजोको वा भोलिको चिन्ताले वर्तमान बिग्रन्छ मात्रै। आज राम्रो गर्‍यो, मेहनत गर्‍यो भने भोलि राम्रो हुनेमा शंकै छैन। फेरि चिन्ता गर्नेहरु संसार नै उनीहरुले चलाउने जस्तै साना-ठूला, आफ्ना-अरुका, चाहिने-नचाहिने सबै कुरामा चिन्ता गर्छन्। त्यसैले भन्ने गरिन्छ- ँमनमस्तिष्कको शान्तिको लागि संसारको सञ्चालक हुनबाट राजीनामा गरौं।’ त्यस्तै जर्ज हर्बर्ट भन्छन्- ँसय भारी चिन्ताको तौलले एक आना पनि ऋण तिर्न सकिंदैन।’

चिन्ता पुरुष जातिमा भन्दा स्त्री जातिमा दुई गुना बढी पाइन्छ। त्यस्तै चिन्ता गर्ने परिवार वा संर्सगमा हुनेहरुले पनि नहुनेले भन्दा बढी चिन्ता गर्ने गरेको पाइन्छ। चिन्ता गर्नेले एउटा समस्याको समाधान भेटिएमा अर्को चिन्ताको कारण भेटिहाल्छ र सुरु भइहाल्छ अर्को वृत्त। चिन्ता गर्ने/नगर्ने भन्ने कुरा व्यक्तित्वमा पनि भर पर्छ। ँक’ तथा ँख’ वर्गका व्यक्तित्व भन्नासाथ ँक’ मा संसारकै म्यानेजर पर्छन्। यिनीहरु नै हुन् धेरैजसो संसारका नेता, वैज्ञानिक, फूर्तिला, सफल व्यक्तित्वहरु, साथै आमसोचाइमा गडबडजस्ता अतिसय चिन्ताका रोगीहरु पनि। त्यस्तै बाबुआमा आफैं अनिर्णित हुने र बच्चालाई डर-त्रासमा हुर्काउने गरेमा तथा बच्चाप्रतिको आफ्नो धारणा, इच्छा क्षण-क्षणमा फेर्ने गरेमा त्यस्ता बच्चाले सोच्न र चिन्ता गर्नमा तल्लीन हुने बानी विकास गर्छन्।

चिन्ताबाट मुक्त हुनको लागि त आफ्नो सुझबुझको धरातल फराकिलो पार्नु अति नै जरुरी छ। जबसम्म आफैं चिन्ताबाट बच्छु, चिन्ता गर्दिनँ, चिन्ताले केही मिल्दैन भन्ने सिद्धान्तबाट विश्वस्त हुन सकिंदैन तबसम्म चिन्ताको हाँगाबिगाले छोइरहन्छ। आफूले आफैंलाई विश्वस्त गराउने, एक्लै नबस्ने, विषयवस्तु परिवर्तन गर्ने, नयाँ परिवेशको निमार्ण गर्ने, पढ्ने, समूहमा जाने आदि गर्नु नै चिन्ताबाट आफूलाई बचाउने पहिला आधार हुन्। रोबर्ट इलिट भन्छन्- ँएक नम्बर नियम हो साना कुरालाई वास्ता नगर्नु र दुई नम्बर नियम हो सम्पूर्ण कुराहरु आखिर सानै हुन् भनेर मान्ने।’ त्यस्तै उपायको बाटो देखाउँदै इडिथ आम्स्ट्रङ भन्छन्- ँम मेरो मनमस्तिष्कको टेलिफोन शान्ति, स्वास्थ्य, सामञ्जस्य, प्रेम तथा पहुँचको लागि खुला राख्ने गर्छु त्यसपछि जब शंका, पीर वा डरहरुले मलाई फोन गर्न खोजे भने तिनीहरुले व्यस्तको आवाज सुन्नेछन् र कालान्तरपछि उनीहरुले मलाई फोन गर्न नै बिर्सेर जानेछन्।’ यसरी चिन्ताबाट बच्न गर्नुपर्ने उपाय र बाटाहरु राम्रोसँग व्यक्त गरिएको छ।

चिन्ताबाट पार पाउनको लागि पहिले त आफूलाई चिन्ताबाट मुक्ति चाहिएको र त्यसको लागि आफू आतुर छु भन्ने कुरामा दृढ हुनुपर्छ। आफूले आफैंलाई गरिने उपचारका उपायहरुमा यस प्रकारका तहगतरुपमा सल्लाह दिन सकिन्छ।

चिन्ताको विषयवस्तुबाट आफ्नो ध्यान अन्यत्र तान्ने तथा मन-मन चिन्ताको कारण रोक्ने प्रण र तालिम गर्ने गर्नुपर्छ। त्यस्तै शारीरिक तथा मानसिकरुपमा आफूलाई आरामदायी र स्वतन्त्र बनाउनको लागि गहिरो श्वास तान्ने, ध्यान-योग गर्ने, अंक गन्ने, गीत गाउने, संगीत सुन्ने, खेल वा चलचित्र हेर्ने, मांसपेशीहरुलाई आराम दिने आदि विभिन्न उपाय अपनाउनुपर्छ। आफ्नो चिन्ताको कारण, जरो, समस्या र समाधानका बारे आफ्ना विचार लेख्ने र स्वमूल्यांकन गर्नाले पनि समालोचना गर्न सकिन्छ। चिन्ताको लागि निश्चित समय र समयतालिका तोक्ने तथा चिन्ता आइहालेमा मेरो चिन्ता गर्ने समय ५-६ बजे हो वा अन्य हो भनेर छुट्याउनु राम्रो हुन्छ।

सिद्धान्ततः चिन्ताबाट मुक्ति पाउने उपायका दुईवटा फर्मुला व्याख्या गरिन्छ। ती हुन्- नराम्रा विचार मनबाट जाओस् भन्ने र आवश्यक ध्यान दिनै पर्ने कुरामा केन्द्रित (Let go an switch on) हुने। यी कुराहरु सीपको रुपमा विकास गर्न प्रशस्त मानसिक तालिम गर्नुपर्छ। प्रेम, विश्वास, सकारात्मक सोच, आशावादी, श्रद्धा, धैर्यताजस्ता बानी तथा गुणहरुप्रति बढी केन्द्रित हुनुपर्छ। यस्ता सैद्धान्तिक उपाय अपनाएर धेरैले आफ्नो जीवन पुनः सुन्दर र उज्यालो बनाएका छन् र चिन्ता मुक्त भएका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.